प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 SILLAGA EKADASHI - 26

साना सहरी खानेपानी उपभोक्ता संस्थाहरुका लागि आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौ : साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको सेवा प्रवाहलाई दिगो, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न भएको छ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रबर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिमलाई खानेपानी सेवा प्रदायकहरुले संस्थागत सुदृढीकरण तर्फको प्रस्थान बिन्दुको रुपमा लिईएको छ ।

तालिममा देशभरिबाट प्रतिनिधिमूलक रूपमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष, मुख्य पदाधिकारी तथा व्यवस्थापक गरी ५४ जना सहभागी भएका थिए। कार्यक्रममा उपभोक्ता समितिहरूको स्रोत व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह, सार्वजनिक खरिद प्रक्रिया, महसुल निर्धारण, विवाद समाधान र वित्तीय अनुशासन जस्ता विषयमा प्रशिक्षण दिईएको थियो।

तालिमको उदघाटन तथा समापन सत्रमा खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोग, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगर विकास कोष लगायत संस्थाका प्रमुख तथा प्रतिनिधिको समेत उपस्थिति थियो ।

तालिमको समापन सत्रमा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी तथा सरसफाइ सेवा प्रदायकहरुको क्षमता विकास बिना गुणस्तरीय सेवा प्रवाह गर्न नसक्ने भएकाले संस्थागत क्षमता अभिवृद्धिका लागि तालिम फलदायी भएको बताउनुभयो। उहाँले यस्ता तालिमहरु देशैभरि सञ्चालन गर्नका लागि समेत आग्रह गर्नुभयो।

तालिममा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रबर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई. रामकुमार श्रेष्ठले तालिमका सहभागीहरुको सल्लाह सुझावलाई समेत मनन गर्दै देशभरिका उपभोक्ता समितिहरूका लागि क्रमशः तालिम सञ्चालन गर्दै लगिने बताउनुभयो।

‘खानेपानी तथा सरसफाइ ऐन, नियम र संरचनाले मात्र खानेपानी सेवा दिगो हुन सक्दैन’ उहाँले भन्नुभयो ‘यसका लागि सेवा प्रदायक संस्थाहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ । सेवा प्रदायक संस्थाहरु क्षमतावान भएपछि खानेपानी सेवा गुणस्तरीय र दिगो हुन्छ।’

उपभोक्ता समितिकै जगमा सेवा टिकेकाले उपभोक्ता समितिहरूको क्षमता अभिवृद्धि गर्ने काम केन्द्रको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो।

तालिममा सम्बन्धित बिषयका विज्ञहरुले प्रशिक्षण दिएका थिए।

तालिमका सहभागीहरूले तालिम व्यवहारिक, उपयोगी र समयानुकूल भएको प्रतिक्रिया दिएका छन्। सुदृढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार हुने राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको विश्वास छ।