प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 SILLAGA EKADASHI - 26

Workshop on Addressing Water Security Challenges in Hilly and Terai Areas

Workshop

काठमाडौ : भूमिगत पानीको सतह (shallow aquifer) बार्षिक औसत २.६ मिटर उतार चढाव भएको पाईएको छ । वेल्ट हङ्गर हिल्फे (WHH)  ले परामर्शदाताहरु मार्फत सिरहा जिल्लाको गोलबजार र कर्जन्हा नगरपालिकामा गरेको अध्ययनले बर्षेनी २.६ मिटरको उतारचढाव भएको तथ्य भेटिएको हो।

अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै अध्ययन टोलीका प्रताप सिंह तातेरले जमिन मुनिको जलस्तर सामान्यतया करिब ५–६ मिटरमा भेटिने र उत्तरी क्षेत्रहरूमा मौसमी उतार चढाव बढी रहेको जानकारी गराउनुभयो ।

राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) केन्द्र र वेल्ट हङ्गर हिल्फे (WHH) ले संयुक्त रुपमा बुधबार काठमाडौमा आयोजना गरेको “तराई र पहाडी क्षेत्रमा खानेपानीको दिगो स्रोत व्यवस्थापन सम्बन्धी गोष्ठीमा उहाँले जमिनको गहिराईको जल सतह (deep aquifers) अझै उत्पादनशील रहेको तर प्रयोग लागत महँगो पर्ने बताउनुभयो।

अध्ययनले दीर्घकालीन रुपमा भूमिगत पानीको सतह घट्दो प्रवृत्तिमा रहेको प्रमाण देखिएको छ । यदि हालको प्रवृत्ति जारी रह्यो भने भविष्यमा खानेपानीको अभाव हुने जोखिम रहेको अध्ययनले औल्याएको छ ।
टोलीले सिरहाको गोलबजार र कर्जन्हा नगरपालिका क्षेत्रमा करिब १० महिना भूमिगत पानीको विभिन्न उतारचढावबारे अध्ययन गरेको थियो ।

उक्त अध्ययनले दिगो जलस्रोत व्यवस्थापनका लागि अत्यन्त आवश्यक रहेको, मधेश प्रदेशमा ह्याण्डपम्प, खनेका इनार तथा कम गहिराइका इनारहरूमा सुख्खा मौसमका बेला भूमिगत पानीको सतहमा उल्लेखनीय उतार–चढावका गम्भीर समस्याहरू सिर्जना गरेको निष्कर्ष निकालेको छ ।

अध्ययनले ७० प्रतिशतभन्दा बढी घरपरिवारहरू स्याले ट्युबवेलमा अत्यधिक निर्भर रहेको पुष्टि गरेको छ । जसले जमिन मुनिको पानीको सतह घट्दै जाँदा धेरै समस्या भोगिरहेको र उनीहरु नै उच्च जोखिममा रहेको औल्याईएको छ ।

अध्ययनकर्ता प्रताप सिंह तातेरले सिरहा जिल्लामा भूमिगत पानीको दबाब निरन्तर बढ्दो क्रममा रहेको छ र तथ्यमा आधारित योजना तर्जुमा गर्न सके भविष्यमा उत्पन्न हुन सक्ने पानीको संकटलाई रोक्न सकिने बताउनुभयो। अध्ययनका निष्कर्षहरूले जलवायु उत्थानशील जल व्यवस्थापनको आवश्यकता औल्याएको छ ।

भविश्यमा के गर्ने त ?

√ अध्ययनले भविश्यमा भूमिगत पानीको व्यवस्थापनका लागि केही सुझाव समेत दिएको छ ।

√ भूमिगत पानीको गुणस्तर र मात्रा अध्ययन गर्नकै लागि कम गहिराई र अझ बढी गहिराईका अनुगमन ट्युबवेलहरु निर्माण गर्ने ।

√ दिगो शहरी विकास योजना प्रवद्र्धन गरी पुनर्भरण क्षेत्रहरूको पहिचान गरी संरक्षण गर्ने ।

√ व्यवस्थापित भूमिगत पानीको पुनर्भरण अपनाएर भूमिगत पानीको पुनर्भरण कार्यक्रमहरू प्रबर्द्वन गर्ने ।

√ कृत्रिम पुनर्भरण, वर्षा/मनसुनको अतिरिक्त पानी संकलन गरी घट्दो जलस्रोतहरू पुनः आपूर्ति गर्ने ।

√ जलवायु उत्थानशील र जलवायु अनुकूलन रणनीतिहरूलाई प्रादेशिक विकास योजनाको मूलप्रवाहमा ल्याउने ।

√ भूमिगत जलस्रोतको संरक्षण र पुनर्भरणका लागि स्थानीय सरकार र समुदायहरूको क्षमता विकास गर्ने ।

√ नगरपालिकामा भूमिगत पानीको प्रयोग सम्बन्धी नीतिहरू विकास गर्ने, नियमन गर्ने प्रावधान मिलाउने ।

√ खानेपानी, कृषि, र सिंचाइ योजना एकीकृत ढाँचामा समायोजन गर्ने ।

कार्यक्रममा परामर्शदाता नवराज खतिवडाले मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको १२० वटा खानेपानी मुहानको अवस्थितिका बारेमा गरिएको अध्ययनको निष्कर्ष प्रस्तुत गर्नुभयो।

यस्तै दिगो जल व्यवस्थापन, नीति नियम र भूमिगत पानीको नियमन लगायत बिषयमा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, युनिसेफ नेपालका अरिनिता मास्के (श्रेष्ठ), वास एक्सपर्ट महेश भट्टराई र भूमिगत पानी विशेषज्ञ लक्ष्मण शर्मा सम्मिलित प्यानल छलफल समेत गरिएको थियो।

उक्त छलफलको अध्यक्षता राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक राम कुमार श्रेष्ठले गर्नुभएको थियो । उहाँले भूमिगत पानीको अनुगमन गर्न स्थानीयबासिन्दाले पिउने प्रयोजनका लागि खनेका इनार वा आयोजनासँग सम्बन्धित डिपबोरिङ भन्दा पनि डेटिकेटेड अर्थात अध्ययनकै लागि अनुगमन इनारहरु बनाउनुपर्ने र यसले वस्तुपरक र यथार्थ तथ्याङ्क उपलब्ध हुने बताउनुभयो।